• ✍️देउजा राधाकृष्ण 

देशको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय फोरममा सहभागी हुन आउने प्रधानमन्त्री वा मन्त्रीहरु सँग निजि वा दलीय विमति हुन सक्छन तर ति असन्तुष्टि र विमतिलाई  थाँती राखेर उहाँहरुको सक्दा औपचारिक नै सहि सम्मान र सत्कार गर्ने नसक्दा पनि कमसेकम अनादर अपमान र दुर्व्यवहार नगर्ने हाम्रो आम प्रतिवद्धता हुनुपर्छ । 

सवै भन्दा पहिला हामी नेपाली हौँ र हाम्रो सँस्कार भनेको अपमान अनादर र दुर्व्यवहारको हुँदै हैन तर पनि फेरी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आउनु भएका प्रधानमन्त्री केपी ओली र परराष्ट्र  मन्त्री आरजु राणा देउवाको सम्मान र स्वागतार्थ आयोजना गरिएको कार्यक्रम सुरक्षाको कारण देखाएर अन्तिम अवस्थामा स्थगित भएको खवरले दुख लागेको छ । 

दुनियालाइ थाहा छ कि केहि समय यता म  स्वयम प्रधानमन्त्री केपी ओलीको निरन्तर आलोचक रहँदै आएको छु । वहाँको असंवैधानिक सोच अनि  वहाँको वरिपरी रहेर भ्रष्टचार र अनैतिकतालाइ प्रसय दिने  कोटरीको गतिविधि प्रति असन्तुष्टि अझै छ र उहाँहरु सच्चि हाल्ने देखिन्न , त्यसैले आलोचना पनि निरन्तर रहन्छ नै तर त्यसको मतलव उहाँहरुलाइ जहाँ देख्यो त्यहीं सराप्ने वा अपमान गर्ने भन्ने हुनै सक्दैन ।  

त्यसैले गर्दा देशको कार्यकारी प्रमुखको भ्रमण सफल रहोस भन्ने मनोकामना  राख्दै आफु आफ्नै धुनमा रहेको थिएँ तर जव प्रधानमन्त्री र  परराष्ट्र  मन्त्रिको स्वागत र सम्मानको लागि भनेर आयोजना गरिएको कार्यक्रम स्थगनको खवर सुने तव अत्यन्त दुखित भएँ । हुन त त्यो कार्यक्रमको आयोजनाको विषयमा छलफल  गर्दै गर्दा नै  संक्रिणता र सानो चित्त प्रकट भएको विषयमा केहि साथीहरु बाट गुनासो सुनेको थिएँ  ।

 त्यसो हुँदै गर्दा पनि भनेको थिएँ मात्रै हैन सांकेतिक रुपमा लेखेको पनि थिएँ कि स्थानीय आयोजकहरुको संक्रिणताको कारण सृजित आक्रोशको सिकार कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरुलाइ देखाइनु हुदैन  । हुन त कार्यक्रम हुनु अगावै कथित सुरक्षा संवेदनशिलता भन्दै कार्यक्रम स्थगन गरिएकोले साँच्चैमा  प्रधानमन्त्री वा परराष्ट्रमन्त्री माथि दुर्व्यवहार हुन्थ्यो वा हुन्नथ्यो भनेर ठोकुवा गर्न सक्ने  कुरै भएन । यद्धपि म मातृभुमि नेपालमा जन्मेको र नेपालीहरुको सँस्कार देखेको बुझेको र त्यही सिक्दै हुर्केको नेपाली हुनुको नाताले गर्दा यो मान्न सक्दिन कि नेपालीहरु बाट प्रवासको भुमिमा  प्रधानमन्त्री वा परराष्ट्र मन्त्री प्रति अनादर वा दुर्व्यवहार हुन्थ्यो ! हुन सक्थ्यो होला केहि व्यक्तिहरुले केहि हर्कत गर्न खोज्थे होलान , त्यो त  छिटफुट जता पनि हुन्छ नि । 

स्वयम प्रधानमन्त्री सहभागी उहाँकै दलको कार्यक्रमको दौरान सुदुरपश्चिममा भीम रावल खोज्दै प्रधानमन्त्री विरुद्ध नारावाजी भएको हैन र ? यहाँ पनि त्यस्तो एकाध स्वरहरु आउंथ्यो होला तर यति जरुर भन्न सकिन्छ कि त्यसरी प्रवासमा  आएको प्रधानमन्त्री वा मन्त्री विरुद्धको आवाज भन्दा शिष्ट भद्र  र सुसंस्कारी बोलि नै हावी हुने थियो । खैर जे होस, नेपालको प्रधानमन्त्रीले प्रवासमा आफ्नै समुदायको कार्यक्रममा  सुरक्षा खतरा महशुस गरेको भाष्य स्थापित गर्दै देशकै शिर निहुरिने  काम भएको छ र यो दुखद छ ।  

यसले हामी सबैको शिर निहुरिएको छ । आशा गरौँ  नेपालको प्रधानमन्त्रीले ( जोसुकै प्रधानमन्त्रीले होस) प्रवासको भुमिमा आफ्नै देश बाट आएका दाजुभाइ बाट सुरक्षा खतरा छ भन्ने सुन्न र त्यो सुनुवाईको जगमा बदनाम हुन नपरोस । देशको प्रधानमन्त्रिको अपमान  हुने  र हामी सम्मानित हुने भन्ने चाहिं अलिक हजम हुदैन है ।