बेलबारी — मोरङको बेलबारी नगरपालिकाको स्वास्थ्य शाखा सहित बेलबारी -१ मा सञ्चालित नगर अस्पतालमा कार्यरत कर्मचारीहरुले बिगत ४ महिनादेखि तलब पाएका छैनन भने बर्षौदेखि महंगी भत्ता समेत नपाएको गुनासो गरेका छन ।
अन्य शाखाका कर्मचारीहरुले तलब पाईरहेपनि स्वास्थ्यका कर्मचारीहरुको तलब ४ महिनादेखि रोकिएको छ । तलब रोकिँदा समस्या भएको उनीहरु बताउँछन । अन्यत्र कर्मचारीहरुले महंगी भत्ता पाउने गरेपनि बेलबारीमा महंगी भत्ता समेत नपाएको उनीहरुको गुनासो रहेको छ । महंगी भत्ता माग गर्दै अस्पतालमा कार्यरत कर्मचारीहरुले नगरपालिकालाई पत्र समेत दिएका छन । महंगी भत्ता दिनका लागि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा (कोईराला) लगायतले तोक आदेश समेत दिएको तर भत्ता नपाएको उनीहरुको गुनासो रहेको छ ।
पटक पटक आफुहरुले भत्ता पाउनुपर्ने माग राखेको र निबेदन पनि दिएको तर भत्ता नपाएको उनीहरुको गुनासो रहेको छ । ऐनमा स्थायी तथा करार सबे कर्मचारीहरुले भत्ता पाउने कुरा उल्लेख रहेको छ ।
भत्ता रोकिएको बिषयमा बेलबारी नगरपालिकाकी लेखा अधिकृत धनमाया राई सँग बुझदा उनले प्रदेशको ऐनमा महंगी भत्ता दिनुपर्ने उल्लेख गरिएको भएपनि संघले भत्ता नदिनु भनि पत्र पठाएका कारण भत्ता रोकिएको बताउँछिन । नियमबिपरित जस्ले दिनु भनेपनि दिन नमिल्ने र दिएमा बेरुजु देखिने उनको तर्क रहेको छ । उनले स्वास्थ्यमा मात्र नभएर कुनै पनि शाखामा कार्यरत कर्मचारीहरुले महंगी भत्ता नपाएको बताईन । कर्मचारीहरु भने तोक लागेको भत्ता समेत रोकिएको भन्दै आक्रोश पोखिरहेका छन ।



















