- भगवती अर्याल
विराटचोक—मोरङको सुन्दरहरैचा नगरपालिका-१२ स्थित सुकुना बहुमुखी क्याम्पसका एक अनिवार्य सेवानिवृत्त सहप्राध्यापकले छात्रवृत्ति अक्षयकोषका लागि एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन्।
गत साउन ५ गते अनिवार्य सेवा निवृत्त भएका सहप्राध्यापक गुरुप्रसाद अधिकारीले क्याम्पसको छात्रवृत्ति अक्षयकोषका लागि एक लाख रुपया हस्तान्तरण गरेका हुन् ।
बुधवार क्याम्पसमा एक कार्यक्रमका बीच उनले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष केशव अधिकारी र उपाध्यक्ष ललितबहादुर श्रेष्ठको समुपस्थितिमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीलाई उक्त चेक हस्तान्तरण गरेको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए ।
क्याम्पसको तर्फबाट सहप्राध्यापक अधिकारीलाई धन्यवाद सहित सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गरिएको दाहालले बताए ।
चेक हस्तान्तरण कार्यक्रममा सहायक क्याम्पस प्रमुखद्वय बलराम पोखरेल , गणेशप्रसाद दाहाल,सहप्राध्यापक केपी आचार्य,क्याम्पस प्रशासन अधिकृत नवराज कोइराला,कर्मचारीहरु जीवन भट्टराई (लोकप्रकाश) देवराज गिरी लगायतको उपस्थिती रहेको थियो ।
यस प्रकारको योगदानले विद्यार्थीहरूलाई आर्थिक सहायता प्रदान गर्दै उनीहरूको शिक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। शिक्षकले सेवानिवृत्त भएपछि पनि समाजमा योगदान दिने यो कदम प्रेरणादायी छ।
हिजो मंगलबार मात्रै सञ्चालक परिषद्को १८ औं बैठकको अवसरपारेर क्यापसले विभिन्न तहको वार्षिक परीक्षामा उच्च अङ्क ल्याउने १८३ जना जेहेन्दार विद्यार्थीहरूलाई १८ लाख ८१ हजार ९ सय ९८ रुपैयाँ छात्रवृत्ति वितरण गरेको थियो ।
छात्रवृत्ति वितरण कार्यक्रमका प्रमुख अतिथि संविधान सभाका सदस्य चन्द्रबहादुर गुरुङले आगामी वर्षहरूमा छात्रवृत्ति पाउने सङ्ख्या वृद्धि गर्दैजाने र अक्षयकोषको रकम थप गर्न मनकारी दाताहरुमा अनुरोध गरेका थिए ।


















