काठमाडाैं । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी प्रकरणमा संलग्न ठानिएका ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग लिइने भएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरू विदेशमा रहेको आशंकासहित इन्टरपोलमा रेड नोटिस जारी गर्न सिफारिस गरेको छ।
एसपी होविन्द्र बोगटीका अनुसार, गुरुङ र भण्डारीको खोजीको लागि इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) मार्फत इन्टरपोलको मुख्यालयमा पत्राचार गर्ने तयारी भइरहेको छ।रेड नोटिस जारी भएपछि इन्टरपोलका सदस्य रहेका १९५ देशका सुरक्षा निकायले उनीहरूको खोजी गर्नेछन्।
ज्योति गुरुङ, जो नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुन्, सहकारीमा ऋण तिर्ने व्यक्ति रहेको पाइएको छ। अर्का आरोपी ज्योतिबहादुर भण्डारी भने सहकारीका सदस्य नै नभए पनि उनलाई ऋण दिइएको भेटिएको छ।यो प्रकरणको अनुसन्धान सहकारी रजिष्टार कार्यालय बागमतीको अनुरोधमा सुरु गरिएको थियो।


















