- दुर्गाप्रसाद खरेल
विराटचोक — मोरङको सुन्दरहरैँचा नेपाली कांग्रेस लागायत विभिन्न पार्टी परित्याग गरी एक सयभन्दा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार माओवादी केन्द्र सुन्दरहरैँचा नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेहरुमा कांग्रेसका बज्रमणि राईको नेतृत्वमा ७० जना र चिरन्जीवी रेग्मी नेतृत्वमा ४० जना प्रवेश गरेको माओवादी केन्द्र सुन्दरहरैँचाका अध्यक्ष दुश्यन्त भट्टराईले जानकारी दिए।
नव प्रवेशीहरुलाई माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए ।
सुन्दरहरैँचा- ८ स्थित सलकपुरमा वाइसियलको कार्यालय उद्घाटन समेत गरिएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले ललिता निवासको खरबौँको जग्गा सरकारको नाममा समेत ल्याउन सफल रहेको कुरा व्यक्त गरे । उनले नेपालका धनाढ्य व्यक्तिहरुलाई उक्त ललिता निवासको जग्गा विषयमा कारवाही गरेर कानुन धनि र गरिव सबैलाई बराबर हुने कुराको स्तापित गरेको कुरा बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता श्रेष्ठले दैवी प्रकोपमा उद्धार तथा राहत कार्यक्रममा समेत वर्तमान सरकार चुकेको बताउँदै आगामी कार्तिक १० गते राजधानीमा व्यापक खबरदारी सभा गर्न लागिएको बताउदैँ उनले वर्तमान सरकारप्रति आक्रोश समेत पोखेका थिए ।
उनले देश र जनताका पक्षमा ५ ओटा मुख्य कार्यभारलाई अघि बढाउने सङ्कल्प गरेको बताए । हजारौ बेपत्ता, सहिद र घाइते अपाङ्गहरुलाई न्याय दिलाउन र नेपालमा सामाजिक न्याय प्रतिष्ठा गर्न लागिपरेको जिकिर गरे।
पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड' नेतृत्वमा भएको सरकार र पूर्व उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले गरेका राम्रा कामहरुको प्रभावले यतीखेर माओवादी केंद्रमा प्रवेशको लहर बढेको बुझिएको छ ।



















