काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दल पनि सामाजिक संस्था भएका कारणले त्यसको पुनर्निर्माण राज्य र नागरिक स्तरबाट सहयोग प्राप्त गर्ने स्वाभाविक हक भएको बताएका छन् ।
कतिपय राजनीतिक दलहरूले सुरुमै चन्दा र दानबाट पार्टी भवन निर्माण गरेको दृष्टान्त उल्लेख गर्दै महासचिव पोखरेलले यस्तो अवस्थामा नेकपा एमालेले पारदर्शी तरिकाबाट लिएको कार्यालय भवन निर्माणको सहयोगलाई अन्यथा रूपमा चित्रण गर्ने र बहसको विषय बनाउने कुरा उचित नभएको पोखरेलले स्पष्ट पारेका छन ।
बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले कार्यकर्ताबाट पर्याप्त सहयोग रकम सङ्कलन हुन नसकेको र बल्खु स्थित पुरानो जमिनमा पार्टी कार्यालय भवन निर्माण हुने अवस्था नदेखिएपछि दानमा जमिन लिने पार्टीको संस्थागत निर्णय गरिएको स्पष्ट पारेका हुन् । यस्तो अवस्थामा पार्टीले विनाशकारी भूकम्पमा भएको क्षतिग्रस्त भवनको पुनर्निर्माण लागि पार्टीका शुभेच्छुकले सहयोग गर्ने चाहना राखेकोले सहयोग लिएको लिएको उल्लेख गरेका छन् । ‘यस्तो सहयोग लिनु स्वाभाविक हो, अन्यथा ठान्न मिल्दैन’, उनले लेखेका छन ।
महाविपत्तिमा भएको क्षतिको पुनर्निर्माण सहयोग प्राप्त गर्ने र सहयोग गर्ने प्रचलन पुरानै रहेको पनि उनले स्पष्ट पारेका छन् । महाविपत्ति पछिको राहत, उद्धार र पुनर्निर्माण राज्यले समेत नागरिक र अन्तराष्ट्रिय समुदायको समेत सहयोग लिने गरेको तथ्यसँग नेपालीजन जानकार नै रहेको पोखरेलले स्मरण गराएका छन् । नेकपा एमालेले नयाँ पार्टी कार्यालय बनाउनका लागि नभई पुराना पार्टी कार्यालय महाभूकम्पका कारणले क्षतिग्रस्त भएकोले पुनर्निर्माण गर्न लागेको पनि उनले स्पष्ट पारेका छन्।
२०७२ सालको विनाशकारी भूकम्पमा भएको भौतिक क्षतिको पुनर्निर्माण नेतृत्व नेकपा एमाले आफैँले सरकारमा रहँदा गरेको पनि उनले स्मरण गराएका छन् । एमालेले पहिले जनताका घर पुनर्निर्माण गर्ने, त्यसपछि सरकारी भवन र सम्पदाको पुनर्निर्माण गर्ने नीति लिएको पनि उहाँले स्मरण गराएका छन् ।
यी सबै काम सकिएपछि मात्र पार्टी कार्यालय भवन पुनर्निर्माण गर्न खोजेको उनले उल्लेख गरेका छन् । त्यो पनि बाढी र डुबानका कारणले भाडमा रहेको पार्टी कार्यालयमा ठुलो क्षति बेहोर्नु परेको अवस्थामा आफ्नै कार्यालय भवन बनाउन खोजेको पोखरेलले स्पष्ट पारेका छन् ।




















