बुटवल— रुपन्देही जिल्ला अदालतले संगठित रुपमा सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि रवि लामिछानेलाई पक्राउ पुर्जी जारी गरेको छ । 

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको अनुसन्धानमा हिरासतमा रहेका लामिछानेलाई  रुपन्देही जिल्ला अदालतले  पक्राउ पुर्जी जारी गरेको हो |

जिल्ला न्यायधीश श्यामप्रसाद श्रेष्ठको इजलासले कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका रवि लामिछानेसहित १२ जनाविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलको कार्तिक ८ गतेको पत्रअनुसार अदालतले रवि लामिछानेसहित १२ जनालाई पक्राउ पुर्जी जारी गरेको हो ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा बचतकर्ता नारायणबहादुर पहराइको नेपाल सरकार वादी भएको मुद्दा अनुसन्धानका लागि रवि सहित १२ जनालाई पक्राउ पूर्जी जारी भएको हो । 

सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडिआईजी छविलाल जोशीलाई बिहीबार सरकारी न्याधिवक्ताको कार्यालयमा बयान लिइ सकिएको छ ।

यस्तै रास्वपाका सभापति एवं पूर्वगृहमन्त्रीसमेत रहिसकेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ ।