विराटनगर — मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करबाट १ जना महिलाको मृत्यु भएको छ। बिहीबार दिउँसो सुन्दरहरैँचा-१२ स्थित महेन्द्र राजमार्गको  किस्ती पुलमा टिपरले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१क ३४१७ नम्बरको टिपरले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२८प ६१३२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ३:४० बजेतिर ठक्कर दिएको थियो। 

 दुर्घटनामा परेर अन्दाजी ३०/३२ वर्षीया महिलाको मृत्यु भएको र उनको पहिचान खुल्न नसकिरहेको प्रहरीले जनाएको छ ।

टिपरले ठक्कर दिएपछि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको डीएसपी जोशीले जानकारी दिए। अस्पताल पुर्‍याउनसाथ चिकित्सकले दिउँसो ४:३० बजेतिर मृत घोषित गरिदिएका हुन्।

शवलाई पोस्टमार्टमका लागि अहिले कोशी अस्पतालमै राखिएको छ। मृतकका कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। टिपर र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिए पनि टिपर चालक फरार भएका छन्। डीएसपी जोशीले फरार रहेका चालकको खोजी तीव्र पारिएको बताए। मृतकको पहिचानको प्रयास गर्दै घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।