केही समय अघि,
म सत्यको पथमा हिड्दथे, अरू सबै पनि हिड्दथे।
न्यायका पक्षमा आवाज बुलन्द गर्थे, अरू सबैले गर्थे।
सम्पूर्णलाई सम्मान गर्थे, अरू सबैले गर्थे।
            **
केही समय अघि,
तथ्यको धरातलमा बहस उठाउँथे,
विचारको भिडमा सत्य खोज्थे, अरू पनि खोज्थे।
देशलाई हृदयले माया गर्थे,
ईमानदार थिए, अरू पनि त्यस्तै थिए ।
             **
तर आज…
मैले न्यायको आवाज छोडे,
अरूले पनि शायद मौनता ओढे।
मैले सम्मानको बाटो बिर्सें,
अरूले पनि शायद सम्मान हराए।
              **
आज,
तथ्य बन्धनमा छन्, बहसहरू चुप छन्।
देशभक्ति केवल नारामा सीमित छ।
मैले चुप लागेँ, अरूले पनि छोडे।
तर मन सोध्छ—
किन हरायौं हामी?
किन चुप छ हामीभित्रको सत्य?
किन देशभक्ति आज केवल एउटा सम्झना बन्यो?
                 **
आज,
मैले केही छोडें,
अरूले पनि केही छोडेका छन्।
             **
तर प्रश्न उठ्छ—
के हामी अझै फर्किन सक्छौं?
केही समय पहिलेको त्यो सत्य, त्यो सम्मान,
त्यो देशभक्ति, त्यो ईमानदारी…
के फेरी जाग्न सक्छ?
शायद उत्तर हामीमै छ।