काठमाडौं— सहकारी ठगीका विषयमा अनुसन्धानमा रहेका रास्वपा सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आज सरकारले पोखरा फर्काउँदै छ ।  पर्सा जिल्लामासमेत पक्राउ पुर्जी जारी भएपछि उनलाई केही दिन अघि मात्रै बयानका लागि लगिएको थियो ।

पर्सामा बयान सकिएकाले प्रतिवेदन तयार गरेर पोखरा फर्काउन लागिएको प्रहरीले जनाएको छ ।  उता रविलाई अमानवीय तरिकाले मध्यरातमा कहिले कुन जिल्ला कहिले कुनमा लगिएको भन्दै उनको पक्षमा जनमत बढ्दो छ ।

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमद लाहाल प्रचण्डले त सार्वजनिक रुपमा नै रविलाई थुनामुक्त गरेर अनुसन्धान नगर्ने हो भने उनको पक्षमा काठमाडौंमा ठूलो प्रदर्शन गर्ने चेतावनी दिएका छन् । 

विपक्षी मात्रै होईन, सत्तापक्ष नेपाली कांग्रेसकै नेता डा. शेखर कोइरालालगायतले पनि रविमाथि सरकारले गरेको व्यवहारको विरोध गरेका छन् ।  पुस ५ गते अघि नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी सरकारी वकिल कार्यालय कास्कीले गरेको छ। रवि र छविलाल जोशीविरुद्ध पूरक अभियोगपत्र पेस हुने छ। 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा गत २ कात्तिकमा पक्राउ परेका उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान भएको छ ।   कास्की प्रहरी हिरासतमा रहेकै अवस्थामा उनलाई रुपन्देही, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो । त्यहाँ पनि सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप उनीमाथि छ । 

बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा सहकारीबाट रकम लगिएको छानबिनबाट देखिएको थियो ।  लामिछानेलाई रुपन्देहीमा ३ दिन, काठमाडौँमा ४ दिन र चितवनमा २ दिन अनुसन्धानका लागि राखिएको थियो । यसअघि उनलाई पहिलोपटक ६, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन, चौथोपटक १३ दिन, पाँचौँपल्ट १५ र छैटौँपटक ४ दिन म्याद थप गरिएको थियो ।