पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा मुद्दा पुगेको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले पूर्वगृहमन्त्री लामिछानेविरुद्ध २७ करोडभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा अगाडि बढाइएको जानकारी दिएकी छन् ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दातर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको निष्कर्षसहित मुद्दा लगिएको हो ।सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी आरोपमा गत कात्तिक २ गते काठमाडौंको बनस्थलीबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा अघि बढाइएको छ ।

गोर्खा मिडिया नेट्वर्कमा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको सम्पत्ति भेटिएको निष्कर्षसहित मुद्दा लगिएको छ। उनी गत असोज ६ गते काठमाडौंबाट पक्राउ परेयता ९१ दिनदेखि प्रहरीको हिरासतमा छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले रवि र छविसहित हाल फरार रहेका गितेन्द्रबाबु राई (जीबी) राईको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले रविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा कसुरमा मुद्दा चलाएको छ।

पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा जोशी गत असोज ६ गते र लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । त्यससँगै अन्य तीनजना पनि उक्त प्रकरणमा हिरासतमा छन् ।

लामिछानेविरुद्ध उनका साझेदार छविलाल जोशी पक्राउ परेको ९१ औँ दिनमा जिल्ला अदालतमा मुद्दा लगिएको हो ।