काठमाडौं– सोमबार बेलुकी ललितपुरको फूलचोकी जंगलभित्र हराएका १३ जना भेटिएका छन्।

प्रहरी प्रभाग बाणेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीको कमाण्डमा खोजी कार्यका निम्ति त्यहाँ पुगेको प्रहरी टोलीले उनीहरूलाई जंगलभित्रैबाट उद्दार गरेको हो।

फेला पर्नेमा १० पुरुष र ३ महिला रहेको जिल्ला प्रहरी परिसरका एसपी नवरत्न पौडेलले बताए।

अहिले उनीहरूलाई बाणेगाउँ प्रहरी प्रभागमा आरामका निम्ति लगिएको र आफन्तको जिम्मामा घर पठाइने पौडेलले बताए। उनीहरूको स्वास्थ्य र मानसिक अवस्था सामान्य छ।

फुलचोकी डाँडामा हिँउदेयाममा घुम्न जानेहरूको भिड लाग्ने गर्छ । २७६१ मिटर अग्लो रहेको यो डाँडा काठमाडौं उपत्यका घेर्ने सबैभन्दा अग्लो डाँडा हो।

 उक्त स्थानमा घना जंगल भएका कारण वर्षेनी मानिस हराउने गरेका छन्।