एजेन्सी — भारतको बिहार राज्यमा एक पुरुष शिक्षकलाई सुत्केरी बिदा दिइएको घट्नाले चर्चा पाएको छ । 

हाजीपुर महुआ ब्लकको हसनपुर ओस्ती उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक जितेन्द्रकुमार सिंहलाई सुत्केरी बिदा दिएपछि हास्यास्पद र गम्भीर विषय बनेको छ । 

महिला शिक्षिकका लागि मात्रै प्रसूति र गर्भावस्थामा दिइने बिदालाई  यहाँ पुरुषले पनि प्रसूति बिदा पाउने गरेको भन्दै स्थानीयले व्यंग्य गरेका छन् । उनीहरुले यो बिहार हो यहाँ जस्तो पनि हुन्छ भनेर खिसी टेउरी गर्न थालेका छन् । कतिपयले निराशा व्यक्त गरेका छन् भने कतिपयले यसलाई हाँसोको पात्र भनेका छन् ।

यो घटनामा शिक्षा कोशले बिहार शिक्षा विभागको ई-पोर्टलमा सिंहलाई गल्तीले गर्भवती घोषित गरिएको र फलस्वरूप प्रसूति बिदा दिइएको बताएको छ ।

यो घटनाले शिक्षा विभागको प्रशासनिक त्रुटिमाथि मात्रै प्रश्न उठाएको छैन । यससँगै जिल्लाका पुरुष शिक्षक समुदायमा अनौठो चर्चा चलिरहेको छ । 

उक्त  विद्यालयबाट सुरु भएको यो घटनाले विभागले बिदाको निवेदनको निरूपणमा ठूलो कमी देखाएको छ। जसले विभागीय प्रक्रियाहरूमा थप कडा जाँच र सन्तुलनको आवश्यकतालाई जोड दिएको छ ।

जहाँ विद्यार्थीलाई राम्रो आनीबानी र शिक्षा दिनुपर्नेमा शिक्षा विभागकै यस्ता गल्तीप्रति जनता निकै आक्रोशित भएका छन् । यो घटनाले सरकारी प्रणालीमा हुने हल्का लापरवाहीले कति ठूला समस्या उत्पन्न गराउन सक्छ भन्ने पाठ सिकाएको छ।