विराटचोक —किसानलाई उद्यमशीलतासँग जोड्न मोरङको सुन्दरहरैँचा नगरपालिकाले मौरीको घार वितरण गरेको छ । नगरपालिकाको कृषि शाखाले आइतबार ८ वटा वडाका किसानहरुलाई २०६ वटा मौरीको घार वितरण गरेको हो ।

मौरीपालनका दृष्टिले प्रशस्त वनजङ्गल र चरन क्षेत्र भएकाले पनि मौरीपालन फस्टाउन सक्ने भएकाले किसानलाई घार वितरण अभियान थालिएको नगर प्रमुख केदारप्रसाद गुरागाईंले बताए ।

“मौरीपालनका दृष्टिले प्रचुर सम्भावना देखिएकाले आगामी दिनमा यसलाई व्यावसायिकरुपमा अगाडि बढाउँदै आयआर्जनसँग जोड्ने र यहाँका नागरिकको आर्थिक समृद्धिमा सुधार ल्याउने उद्देश्य छ ।” मौरीपालन गर्दा मौरीको गोलासहितको घार तथा महको पनि माग उच्च भएकाले यहाँका नागरिकलाई मौरीपालनतर्फ जोड्दै लगिएको उनले बताए ।

नगरले कृषि क्षेत्रको समृद्धिका लागि किसानलाई  मौरीको घार वितरण गर्नुका साथै तालिमसमेत प्रदान गरीएको  कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले बताए । 

किसानहरुलाई मौरीपालन सम्बन्धी सातदिने सीपको विकास गरी, मह दानी, धुवा दानी र अन्य उपकरण सामग्री समेत वितरण गरिएको शाखा प्रमुख भट्टराईले जानकारी दिए ।

नगरका १२ वटा वडा मध्ये ३,४,६,७,९,१०,११ र १२ का करिव दुई दर्जन किसानहरुलाई मौरीपालन सम्बन्धी सातदिने सीपको विकास गरी, मह दानी, धुवा दानी र अन्य उपकरण सामग्री समेत वितरण गरेको हो ।

कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं सहित, उपप्रमुख अकली चौधरी र कृषि शाखा प्रमुख फणीन्द्र भट्टराईको उपस्थिति रहेको थियो ।