मकवानपुर—मकवानपुरको मनहरी गाउँपालिकामा मानिस र बाख्रालाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ। मंगलबार साँझ सवा ७ बजे मनहरी गाउँपालिका वडा नम्बर ५, बसन्तपुरको सुकौरा खोलाबाट एम्बुस थापेर बाघलाई नियन्त्रणमा लिइएको हो।

पर्सा वन्यजन्तु आरक्षण, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना र चारवटा हात्ती सहितको टोलीले बाघलाई पक्रिएको हो। बाघको खोजी सोमबारदेखि सुरु भएको थियो। अहिले उक्त बाघलाई पर्सा वन्यजन्तु आरक्षणमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

बसन्तपुरका धनबहादुर रुम्बाकी श्रीमती ७२ वर्षीया कान्छीमाया रुम्बा आइतबार मृत अवस्थामा फेला परेकी थिइन्। अपराह्न ४ बजे घाँस काट्न नजिकैको बारीमा गएकी उनी अबेरसम्म नफर्किएपछि खोजी गर्दा घरबाट ५०० मिटर पूर्वतिर उनको शव भेटिएको थियो। प्रहरीका अनुसार उनको शरीरमा बाघले आक्रमण गरेका गम्भीर चोटहरू थिए।

त्यसैगरी, सोमबार बिहान ५ बजे बसन्तपुरकै सूर्यबहादुर मोक्तानको घरनजिकै रहेको खोरमा सातवटा बाख्रा मरेको अवस्थामा फेला परेको थियो। एक बाख्रालाई बाघले जंगलतिर लगेको थियो। यी घटनाहरूपछि बाघलाई नियन्त्रणमा लिन टोली परिचालित भएको थियो ।