विराटचोक—मोरङको पथरीशनिश्चरे नगरपालिका-२ स्थित श्री सरस्वती आधारभूत माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
अन्तर्राष्ट्रिय प्रचलनमा आएको ईस्वी सम्बतको नयाँ वर्ष जनवरी १ तारिख र नेपालीमाझ प्रचलित टोपी दिवसको अवसर पारेर विद्यालयको प्रार्थनासभा सकिएलगत्तै ९४ जना विद्यार्थीलाई न्यानो कपडा ट्रयाक सुट वितरण गरिएको प्रधानाध्यापक अम्बिकादेवी गौतमले जानकारी दिनु भयो ।
विद्यालयमा विद्यार्थीलाई दाताबाट प्राप्त भएको सहयोगमा ट्रयाक सुट बाँडिएको यहाँ यो पहिलोपटक हो । कार्यक्रममा प्रमुख अतिथि सोही वडाका वडाध्यक्ष नैना राईले बालकक्षाको विद्यार्थीलाई ट्रयाक सुट लगाइदिएर कार्यारम्भ गर्नु भएको थियो । उहाँले सहयोगी मनका धनी रवीन दाहालले यसपूर्व विद्यालयलाई सहयोग गर्नुभएको स्मरण गर्दै समुदायको यसखालको ध्यान, चासो, सहयोग र सरोकारमा मात्र सामुदायिक विद्यालय सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
यही विद्यालयबाट कखराआरम्भ गर्नुभएका हाल अमेरिका बसोबासरत युवाउद्यमी रवीन दाहाल (सुपुत्र श्री विष्णुकुमारी र पोमप्रसाद दाहाल) स्वदेशमै सुरक्षा अधिकारीको रूपमा कार्यरत व्यक्तित्व पञ्कज बुढाथोकी (सुपुत्र श्री पार्थबहादुर बुढाथोकी), स्थानीय समाजसेवी सरु विश्वकर्मा, विव्यस अध्यक्ष खगेन्द्र थापा र प्रधानाध्यापक अम्बिकादेवी गौतमको आ–आफ्नै खालको गच्छेअनुसारको सहयोग जुटेको यो कार्यक्रममा दाताका बुबा–आमा र घरपरिवारबाट पोमप्रसाद दाहाल र पार्थबहादुर बुढाथोकीले लक्षित विद्यार्थी भाइबहिनीलाई यो जाडोमा चाहिने न्यानो कपडामार्फत सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
सम्पन्न कार्यआरम्भ र समग्र व्यवस्थापनमा उल्लेख्य सहयोग गर्नुहुने सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल नगर अध्यक्ष युवराज बास्कोटाले उज्यालो छाउँदै निस्किएको सूर्य झैँ उघ्रँदो सामुदायिक विद्यालयको समग्र अवस्थालाई निस्तेज पार्न, क्रमशः सक्न, मास्न र यसप्रतिको आकर्षणता घटाउन कतिपय व्यक्तिहरूले कहिले विद्यालय प्रशासनको आन्तरिक विषयवस्तुलाई सार्वजनिकीकरण गर्ने, परस्पर सम्बन्धमा फाटो हाल्न अनावश्यक चासो लिने, केही विषयवस्तु पाए यसलाई गिजोल्नेदेखि लिएर समुदायसँग विद्यालय प्रशासनको वा प्रशासनसँग विद्यालय व्यवस्थापन समितिको दूरी बढाउन चाहेको खुलासा गर्नुभयो ।
विव्यस अध्यक्षको अध्यक्षता र शिक्षक पवित्रा राउत बोहोराको सञ्चालन उद्घोषणमा सम्पन्न कार्यक्रममार्फत आफूहरूले समुदायको सक्रियता पाएको अर्थमा यसबाट खुशी रहँदै साह्रै धेरै उत्साहित भएको दृष्टान्त प्रस्तुत गर्नुहुँदै प्रधानाध्यापक अम्बिकादेवी गौतमले सहभागी सबैलाई सारगर्भित मन्तव्यले स्वागत गर्नुभएको थियो ।


















