काठमाडौं —नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय पार्टी राजनीतिमा नजोडिन सुझाव दिएका छन्।

पूर्वराष्ट्रपति भण्डारीलाई नेकपा एमालेमा फर्किने सम्भावनाको चर्चाबीच उनले मुलुकको सबैभन्दा उच्च पदमा पुगेको व्यक्तिले कुनै विशेष पार्टीमा सीमित हुनुको सट्टा सामाजिक रुपान्तरणका नायक बन्नु उपयुक्त हुने धारणा राखेका हुन्।

एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक विमोचन कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीलाई सम्बोधन गर्दै शर्माले भने, “देशको शीतल निवासबाट निस्किएका पूर्वराष्ट्रपतिहरूले सामाजिक परिवर्तनको नायक बन्नुपर्ने मेरो विश्वास छ।”

विमोचन कार्यक्रममा पूर्वराष्ट्रपतिकै अगाडि शर्माले सक्रिय राजनीतिमा नआउन आग्रहसमेत गरे ।

उनले थपे कि देशको अभिभावकको भूमिकाबाट कुनै दलमा सीमित हुँदा राम्रो सन्देश जाँदैन। त्यसैले भण्डारीसँग सामाजिक रुपान्तरणको प्रेरक बन्ने वा कुनै पार्टीको प्रतिनिधि बन्ने दुबै विकल्प रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरे।