काठमाडौं—नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । केपी ओली जस्तो राष्ट्रवादी र भिजनरी लिडर नभएको तथा एमालेको नीति नै मन परेको भन्दै प्रहरी प्रमुखदेखि दुई पटक संघीय सांसदको टिकट हत्याउनु भएका खनालले आइतबार बिहानै अव एमाले नरहेको घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा खनालले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’
आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको खनालको भनाई छ । ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, खनालले भनेका छन् , ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’
खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रहरी प्रमुख बनाउने निर्णय गरेको थियो । ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमाले प्रवेश गरेका थिए । खनाल २०७९ असोज ६ गते एमाले एमाले प्रवेश गरेका थिए ।
पार्टी प्रवेशको दुई महिनापछि मंसिरमा भएको चुनावमा काठमाडौं क्षेत्र नं. ६ बाट खनालले प्रतिनिधिसभा सदस्यको टिकट पाए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल १४ हजार २०४ मत ल्याएर निर्वाचित हुँदा खनालले ८ हजार ९११ पाएर उपबिजेता बने ।
चुनाव हारेपछ पुन उनलाई एमालेले राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र तनहुँमा उम्मेदवार बनायो । त्यहाँ पनि उनी पराजीत भए । तनहुँ–१ मा पनि रास्वपा नेता स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मतसहित विजयी बन्दा खनाल तेस्रो भए । यसरी छोटो समयमै दुई दुई पटक टिकट हत्याएका खनाल अव पाउन केही बाँकी नभएपछि अन्ततिर मन लगाएका हुन् ।




















