सुनसरी— भन्ने गरिन्छ, ‘नेपाल सर्वसाधारणका लागि न्याय हराएको मुलुक हो ।’ सो भाष्यसँग मेल खाने थुप्रै उदाहरण समाजमा देखिन्छ । हालै एउटा त्यस्तै खालको कहालीलाग्दो दृश्य सुनसरीमा देखिएको छ । साहुले जग्गा हड्पेपछि मीटरब्याज पीडितले सिडियोसँग न्यायका लागि हारगुहार गरेका हुन् । गत शुक्रबार जिल्ला सुरक्षा समिति सुनसरीले देवानगञ्ज र हरिनागरा गाउँपालिकाको सहकार्यमा ‘नागरिक सुनुवाई कार्यक्रम’ आयोजना गरेको थियो ।
स्थानीयको जिज्ञासा र गुनासो सुन्न आयोजित उक्त कार्यक्रममा जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी उपस्थित भएका थिए । त्यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद तिमिल्सिना, देवानगञ्ज गाउँपालिका उपाध्यक्ष कुमारीविभा यादव, हरिनगराकी उपाध्यक्ष रिमझिमकुमारी भगतलगायतको सहभागिता थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिवारीले केही कुरा राखे । त्यसपछि आफ्नो कुर्सीमा बसिरहेका उनको छेउमा एक वृद्धा अचानक आइन् । र, आँखाभरि आँसु पारेर आफ्नो जग्गा साहुले हड्पेको बताउँदै न्याय दिलाइदिन सिडियो तिवारीको गोडा समाउँदै ढोग्न थालिन् । सार्वजनिक कार्यक्रममै आफ्नो गोडा समाएर रुन थालेपछि उनले पनि ती वृद्धालाई सान्त्वना दिए ।
अहिले उनलाई न्याय दिलाउनेतर्फ काम अघि बढिसकेको सिडियो तिवारी बताउँछन् । ‘उहाँलाई न्याय दिन काम अघि बढिसक्यो । मैले इलाका प्रशासन कार्यालय र प्रहरी कार्यालयलाई उहाँको समस्या बुझ्न, प्रमाण भएमा लिएर आवश्यक काम थाल्न निर्देशन दिइसकेको छु,’ उनले भने ।
वृद्धाले आफुले ऋण चुक्ता गरिसक्दासमेत साहुले जग्गा फिर्ता नगरेको बताएकी छन् । उनीसँग भएको प्रमाणसहित सत्यतथ्य छानबिन गरेर पीडितलाई न्याय मिल्ने गरी काम गरिरहेको भन्दै सिडियो तिवारीले थपे, ‘प्रशासनले उहाँको मात्रै होइन, सम्पूर्ण मीटरब्याज पीडितको समस्या समाधान गर्न काम गरिरहेको छ । उहाँहरुले छिट्टै न्याय पाउनु हुनेछ ।’
जन आस्था बाट




















