चितवन- बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने बताउनु भएको छ । बुधबार नवलपुरको गैँडाकोटमा एमाले निकट यातायात व्यवसयाीहरुको संगठन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्नुहुँदै उक्त कुरा बताउनु भएको हो ।
मन्त्री महर्जनले डिजिटल प्रविधि मार्फत सार्वजनिक यातायातलाई व्यवस्थित गर्न प्रदेश सरकारको तर्फबाट काम प्रारम्भ गरिएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि रहनु भएका मन्त्री महर्जनले नेपालको सार्वजनिक यातायात क्षेत्रमा भएको निजी क्षेत्रको लगानी डुब्दै गइरहेको, यातायात मजदुरहरु असुरक्षित महसुस गरि विदेशिनु परिरहेको र जनताको सुरक्षित यात्राको अधिकार कुण्ठित हुँदै गइरहेको बताउनु हुँदै यसलाई सुधार गर्न कानुन निर्माण र नियमावली निर्माणको काममा प्रदेश सरकारले द्रुतताका साथ काम गरिरहेको बताउनुभयो ।
देशभरीका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै मन्त्री महर्जनले सिण्डिकेट खारेजीका नाममा खारेज गरिएका यातायात व्यवसायीहरुका संघ समितिलाई नविकरण गर्न सर्वोच्च अदालतले खुल्ला गरिदिएको भएपनि अहिलेसम्म कतिपय व्यवसायीहरुको सम्पति फुकुवा नगरेको प्रति चिन्ता व्यक्त गर्दै त्यसको फुकुवाका लागि संघ सरकारसंग समन्वय गर्ने बताउनु भयो ।
आफ्ले यातायात व्यवसायीहरुको समस्यालाई नजिकबाट हेरिरहेको बताउनुहुँदै बागमती प्रदेशमा पनि सार्वजनिक यातायातको भाडा छिट्टै समायोजन गरिने बताउनुभयो । मन्त्री महर्जनले ढुवानी क्षेत्रमा विदेशी सवारीसाधनहरुको हस्तक्षेपका कारण लगानी संकटमा परेको बताउनुहुँदै त्यसलाई कुटनैतिक रुपमै निवारणका लागि पहल गरिने बताउनुभयो । राइड शेयरिङको बढ्दो प्रभावले सार्वजनिक यातायात क्षेत्रलाई असर पारिरहेकाले सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राख्दै तत्काल कानुनी दायरामा ल्याइने बताउनु भयो ।\
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजददुर संगठनका अध्यक्ष भीमज्वाला राईले नेपालमा सार्वजनिक यातायातको इतिहास उल्लेख गर्नुहुँदै १०८ वर्षको इतिहासमा सार्वजनिक यातायात क्षेत्र अझैपनि उद्योगको रुपमा विकास हुन नसकेको र दिनानुदिन विग्रदै गइरहेको बताउनु भयो ।
नेपाल यातायात मजदुर संघको अध्यक्ष धर्मराज भण्डारीले यातायात श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु पर्ने बताउनु भयो । अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीले यातायात मजदुर तथा व्यवसायीहरुको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, गणतान्त्रिक यातायात व्यवसायी संगठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, नेकपा एमाले चितवनका अध्यक्ष कमल पाठक, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका सल्लाहकार डोलनाथ खनाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।




















