एजेन्सी —एजेन्सी  भारतको पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु भएको छ । पञ्जाब प्रहरीका अनुसार हिजो राति १२ बजेतिर गोगीलाई गोली लागेको हो ।

गोली लागेपछि गुरप्रीत गोगीलाई लुधियानाको डीएमसी अस्पतालमा ल्याइएको थियो । तर त्यहाँ उनलाई मृत घोषित गरिएको बताइएको छ ।

उनको शव डीएमसी अस्पतालको शवगृहमा राखिएको छ। गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक थिए ।

गोगीको टाउकोमा गोली लागेको थियो । उनले आफैंलाई गोली हानेको अनुमान गरिएको छ । यद्यपी घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

गुरप्रीत बस्सी गोगीलाई गुरप्रीत (गुरप्रीत गोगी को हो) भनेर चिनिन्छ। उनका समर्थकहरूले उनलाई गोगीको नामले पनि बोलाउँछन्। उनी पञ्जाबको लुधियाना पश्चिम विधानसभा क्षेत्रका विधायक थिए। २०२२ को विधानसभा चुनावमा उनले यहाँबाट चुनाव जितेका थिए।

पञ्जाब विधानसभा २०२२ को चुनावमा,  गोगीले लुधियाना पश्चिमबाट लगभग ४० हजार मत पाए। चुनावमा कांग्रेसका उम्मेदवार भारत भूषण दोस्रो स्थानमा रहे भने शिरोमणि अकाली दलका महिसेन्द्र सिंह ग्रेवाल तेस्रो स्थानमा रहे।