विराटचोक— नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मोरङको सुकुना बहुमुखी क्याम्पसमा सुविधा सम्पन्न कभर्ड हल निर्माण गर्नका लागि अर्थमन्त्री विष्णु पौडेलसँग बजेट विनियोजन गर्न माग गरेको छ।
बिहीबार अनेरास्ववियु मोरङका नेता एलिश ओझाको नेतृत्वमा गएको विद्यार्थी टोलीले अर्थमन्त्री पौडेलको कार्यकक्षमा भेट गरी माग पत्र बुझाएको हो। उनीहरूले कभर्ड हल निर्माणका लागि डेढ करोड रुपैयाँ बजेट विनियोजन गरिदिन अनुरोध गरेका थिए।
भेटपछिको प्रतिक्रियामा अर्थमन्त्री पौडेलले आउदो वर्षमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको उक्त क्याम्पसको स्ववियु सचिव समेत रहेका ओझाले जानकारी दिए।
यसअघि पनि सुकुना बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट निर्वाचित स्ववियु सभापति बद्री अर्यालको टिमले शान्ति पुनर्स्थापना मन्त्रालयको सहयोगमा क्याम्पस परिसरमा मञ्च निर्माण गरेको थियो।
सुकुना बहुमुखी क्याम्पस मोरङको सुन्दरहरैंचा नगरपालिका-१२ मा अवस्थित छ। यहाँ कभर्ड हल निर्माण भएमा विद्यार्थीहरूका लागि खेलकुद तथा अन्य सहकार्यका गतिविधि संचालन गर्न थप सुविधा हुने अपेक्षा गरिएको छ।
२०४८ सालमा स्थापना भएको उक्त क्याम्पस कोशी प्रदेश कै ठुलो शैक्षिक संस्थाको रुपमा स्थापित छ । जहाँ प्लसटु देखि स्नाकोत्तर सम्म पठन पाठन हुदैँ आएको छ ।


















