विराटचोक—मोरङको सुन्दरहरैंचामा यही माघ ३० देखि फागुन १० गतेसम्म सञ्चालन हुने सुन्दरहरैंचा विराट एक्स्पो ४ का लागि स्थानीय सञ्चारकर्मीले सहयोग गरेका छन्। भीभीआईपी पासको लागि प्रयोग हुने ज्याकेट खरीद गरी सहयोग गरेको सुन्दरहरैंचा पत्रकार समूहका अध्यक्ष बाबुराम निरौलाले जानकारी दिए।
निरौलाका अनुसार एक्स्पोको उद्देश्य निर्माणाधीन आधुनिक शौचालय तथा पुस्तकालयको लागि आर्थिक सहयोग जुटाउनु रहेको छ, जुन अत्यन्तै प्रशंसनीय कदम हो।' यसकै समर्थनस्वरूप सुन्दरहरैंचामा क्रियाशील १० जना सञ्चारकर्मीले ५० हजार रुपैयाँ बराबरको ज्याकेट खरीद गरेका छन्। यस कदमले एक्स्पो आयोजक र सुन्दरहरैंचा उद्योग वाणिज्य संघको कार्यलाई थप सघाएको नेपाल पत्रकार महासंघ मोरङका कार्यसमिति सदस्य समेत रहेका निरौलाले बताए।
एक्स्पो आयोजक संग पत्रकार भेटघाट कार्यक्रमका क्रममा संघका अध्यक्ष नारायण कार्कीले सञ्चारकर्मीलाई १० थान ज्याकेट हस्तान्तरण गरे। उनले निःशुल्क पासको माग गर्ने प्रचलनलाई तोड्दै सञ्चारकर्मीले ज्याकेट खरीद गर्नुले एक्स्पोको उद्देश्यलाई थप बल पुगेको र सकारात्मक सन्देश प्रवाह गरेको बताए।
यस सहयोगले एक्स्पोको सफलतामा टेवा पुर्याउनुका साथै सामाजिक विकासका कार्यमा सञ्चारकर्मीको सक्रिय सहभागिता देखाएको छ।




















