विराटचोक—इन्द्रपुर जेसीजले सुरु गरेको कपडा बैंक अभियानले समाजमा उल्लेखनीय प्रभाव पार्दै ५ हजार भन्दा बढी कपडा संकलन गर्न सफल भएको छ।
‘हुनेले दिने, नहुनेले लिने’ नाराका साथ चलाइएको यो अभियानले विराटनगर, उर्लाबारी, बेलबारी, दमक, इनरुवा, इटहरी, र धरानजस्ता विभिन्न स्थानबाट सहयोग संकलन गरेको हो।
इन्द्रपुर जेसीजका अध्यक्ष आकाश दुलालका अनुसार, कपडाहरू नयाँ र प्रयोग गर्न योग्य मात्र वितरण गरिनेछ। संकलित कपडाहरूमा केही पुराना कपडाहरू पनि परेकाले तिनलाई छुट्याइ पुराना तथा च्यातिएका कपडा वितरण नगरिने व्यवस्था गरिएको छ।
कपडाहरू आजदेखि विराटचोकस्थित वाकिङ स्ट्रिटबाट वितरण सुरु गरिनेछ। यदि त्यहाँबाट सबै कपडा वितरण हुन नसकेमा, अन्य स्थानहरूमा जेसीजकर्मीहरूले गएर वितरण गर्ने योजना रहेको छ।
यस अभियानले समुदायमा परोपकार र सहकार्यको भावना जागृत गर्नुका साथै सामाजिक उत्तरदायित्वको राम्रो उदाहरण प्रस्तुत गरेको छ।



















