भोजपुर—‘हेर्ने कथा’बाट चर्चामा आएका भोजपुरका प्रकाश तामाङलाई आज घर हस्तान्तरण गर्ने तयारी गरिएको छ । भोजपुरको षडानन्द नगरपालिका-१० मा पाँचकोठे घर निर्माण सम्पन्न भएपछि आज उक्त घर प्रकाशलाई हस्तान्तरण गरिने भएको हो।

पूर्वमन्त्री एवं सांसद सुदन किरातीको उपस्थितिमा उक्त घर प्रकाशलाई हस्तान्तरण गरिने बताइएको छ।  भोजरपुर् बाट नै निर्वाचित भएका सांसद किरातीको पहलमा गत भदौमा घर निर्माण थालनी भएको थियो। 

भूतपूर्व गोर्खा सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईले दिएको जग्गामा घर निर्माणको लागि माओवादी केन्द्र षडानन्द नगर समितिले मुख्य भूमिका निर्वाह गरेको थियो । 

गेसोका पूर्वअध्यक्ष राईले दिएको करिब १५ लाख मूल्य बराबरको उक्त जमिन ७ रोपनी क्षेत्रमा फैलिएको छ। लगभग ३३ वर्ष हराएका ४४  वर्षीय प्रकाश हेर्ने कथाको माध्यममार्फत घरपरिवारसम्म आइपुगेका थिए। 

प्रकाश हराएर लामो समय बसेको गोरखाको चुमनुव्री गाउँपालिकास्थित चेकमपारबाट सदाका लागि घर फर्किएका थिए। त्यसपछि उनी भोजपुरको षडानन्द नगरपालिका, छाप्लेगाउँस्थित घरमा बाबुआमासँग बस्दै आएका छन्।