काठमाडौं—वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा शितल राई भन्ने सीता देवी राई पक्राउ परेकी छन् । उनलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको हो ।

झापाको बुद्धशान्ती गाउँपालिका–४ घर भई हाल काठमाडौं–३२ शान्तीनगर बस्ने ५५ वर्षीय राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

गत माघ २ गते वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि जिल्ला अएक दालत परिसरमा आक्रमण भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रतिवादी रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितको पक्षबाट बहस गरेको भन्दै अधिवक्ता त्रिपाठीमाथि आक्रमण भएको थियो ।

अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने  दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र हुम्लाका महेन्द्र पाण्डे  यसअघि नै पक्राउ परिसकेका छन् ।