विराटचोक—मोरङको सुन्दरहरैँचा ७ गाेठगाउँस्थित श्री पञ्चायत माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष भुवनसिंह मगर थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खगेन्द्र रायमाझीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले कार्यक्रममा रू ८ लाख २६ हजारको अक्षयकोषको व्याजबाट ४० हजार बराबरको छात्रवृत्ति २७ जना विद्यार्थीलाई प्रदान गरिएको जानकारी दिए।

कार्यक्रमको अवसरमा छात्रवृत्ति वितरण, जग्गादाता तथा अक्षयकोष दातालाई सम्मान गरिएको थियो। कार्यक्रममा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। समारोहमा पञ्चायत डोजाङद्वारा तेक्वान्दो प्रदर्शन साथै विद्यार्थीद्वारा नृत्य तथा संगीतको कार्यक्रम भएको थियो। कार्यक्रममा सेवानिवृत हुने शिक्षिका सावित्रा आचार्यलाई विदाइ गरिएको थियो। उमेर हदका कारण ३३ वर्षसम्म सेवा गरेकी आचार्यलाई विदाइ गरिएको हो।

उक्त कार्यक्रममा समाजसेवी भक्तिप्रसाद सिटौला, सुकुना क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, पूर्व विद्यार्थी प्रेमप्रकाश उप्रेती लगायतले बोलेका थिए। कार्यक्रमका बोल्ने वक्ताहरूले विद्यालयको भौतिक पक्ष राम्रो भएसँगै पढाइको गुणस्तरमा जोड दिन आवश्यक रहेको उल्लेख गरे।

विद्यालयका शिक्षक अम्बिका सापकोटाले सञ्चालन गरेको कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष पोष्टकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो। पञ्चायत माविको स्थापना २०२१ सालमा भएको थियो। विद्यालयमा हाल ७ सय ६३ जना विद्यार्थीका साथै ४१ जना शिक्षक तथा कर्मचारी रहेका छन्। यस विद्यालयमा प्लसटु  सम्म पढाइ हुने गरेको छ।