विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिबाट बनेको प्रदेश सरकारले उत्साहजनक रूपमा काम गरिरहेको बताएका छन्। शनिबार  बिराटनगरमा आयोजित प्रेस चौतारीको अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सरकारका पछिल्ला कामले सकारात्मक नतिजा दिन थालेको र निजी क्षेत्र तथा अर्थतन्त्रलाई चलायमान बनाएको बताए।

कोशी प्रदेशमा राजस्व वृद्धिदर बढिरहेको छ, र सरकारले राखेको राजस्व लक्ष्य पूरा हुनेमा उनले विश्वास व्यक्त गरे। साथै, आमसञ्चार व्यवस्थापन गर्न बनेको विधेयक पास गरेर पत्रकारिता क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको उनले जानकारी दिए।

मुख्यमन्त्री कार्कीले सञ्चार माध्यममा नकारात्मक विषयवस्तु प्राथमिकता पाएकोमा चिन्ता व्यक्त गर्दै यस्ता समाचारलाई निरुत्साहित गर्नुपर्ने र यथार्थ समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखे।

केन्द्र सरकारले संविधानअनुसार अध्यादेश ल्याएको उल्लेख गर्दै उनले यसले सरकारको कामकाजलाई सहज बनाएको र नागरिक सेवालाई प्रभावकारी बनाएको बताए। उनका अनुसार, अध्यादेश जनतालाई राहत दिनका लागि गरिएको संवैधानिक कदम भएकाले यसबाट कोही आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट गरे।

chautari