काठमाडौं—नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४:३० बजे नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बसमा २८ जना यात्रु सवार थिए । दुर्घटनामा २३ जना घाइते भएका छन् भने बाँकी ५ जना सकुशल रहेका छन् । घाइते यात्रुहरूलाई चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।
दुर्घटनाको सम्भावित कारण बारे अनुसन्धान भइरहेको भएपनि प्रारम्भिक जानकारी अनुसार ‘टायर पञ्चर’ भएका कारण बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले दुर्घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















