काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री भएको बेला बलात्कार अभियुक्तलाई जोगाएको आरोप लगाउने गरी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले दिएको अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले ध्यानाकर्षण गरेको छ।

रास्वपाको अनुशासन आयोगका प्रमुख डा. भरतमणि देवकोटाले संग्रौलाको विवादास्पद अभिव्यक्तिबारे सोधपुछ गर्न तयारी भइरहेको बताएका छन्। उनले भने, “उहाँ (संग्रौला) को अभिव्यक्तिका विषयमा के रहेछ, सोध्नेछौँ।”

संग्रौलाले शनिबार फेसबुकमा लेखेकी थिइन्, “रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको एउटा बलात्कारी आज निकै उफ्रिँदै छ रे त साथीहरू। अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको। याद गर काजी।”

यस अभिव्यक्तिले गृहमन्त्री हुँदा लामिछानेले बलात्कारका अभियुक्तलाई जोगाएको आरोपको संकेत गरेको थियो।

चौतर्फी आलोचना भएपछि संग्रौलाले पोस्ट सम्पादन गरी रवि लामिछानेको प्रसङ्ग हटाइन्। तर, फेसबुकको एडिट हिस्ट्रीमा पुरानो स्टाटस अझै देखिन्छ, जसले विवादलाई मत्थर गर्न सकेको छैन।

एमाले, माओवादी, रास्वपाको गठबन्धन सरकारका बेला रवि लामिछाने उपप्रधानमन्त्री एवम् गृहमन्त्री थिए।

त्यही बेला शोभा भनिने जानुका पाठकले एमाले नेता महेश बस्नेतविरुद्ध बलात्कार, भ्रूण हत्या, र डाँकाचोरीको मुद्दा दर्ता गराउन खोजेकी थिइन्। तर, अदालतले पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा दर्ता अस्वीकार गरेको थियो।

संग्रौलाको स्टाटस महेश बस्नेतको नाम लिएर नभए पनि उनीप्रति लक्षित रहेको अनुमान गरिएको छ। स्टाटसको समय र युवा संघको कार्यक्रममा बस्नेतले रवि लामिछानेविरुद्ध दिएको अभिव्यक्ति पनि यस विषयसँग जोडिएको देखिन्छ।

संग्रौलाको पोस्टले पार्टी नेतृत्वको आलोचना गरेको भन्दै अनुशासन आयोगले विषयको छानबिन गर्ने तयारी गरेको छ। यसले पार्टीभित्र विवाद उत्पन्न गर्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।

रास्वपाको राजनीतिमा आउनु भन्दा अघि संग्रौला सामाजिक अभियन्ताका नाममा अनेक विवादमा मुछिदै आएकी थिइन् ।