- भगवती अर्याल
विराटचोक—कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मोरङको दक्षिणी ग्रामीण भेगका आदिवासी समुदायका एकजना जेष्ठ नागरिकसँग गरेको आकस्मिक भेटघाटले चर्चा पाएको छ।
मुख्यमन्त्री कार्की विराटनगरबाट हुलाकी राजमार्ग हुँदै झापाको गौरिगन्जतर्फ जाँदै गर्दा सुनबर्षी–७ स्थित झपडतल चोकमा जेष्ठ नागरिकलाई देखेपछि उनीसँग भेट्ने इच्छा व्यक्त गरे। ती जेष्ठ नागरिकसँग मुख्यमन्त्रीले केही समय कुराकानी गरे। उनले सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै केही तस्बिर पनि खिचे।
ती जेष्ठ नागरिक टेटरलाल राजबंशी हुन्, जो मुख्यमन्त्रीको गाडी चालक गणेशप्रसाद राजबंशीका बुवा हुन्। सुनबर्षी–७ बरडंगा डाँगी टोलका निवासी टेटरलालसँगको भेटले स्थानीयस्तरमा आत्मीयता र सकारात्मक भावना सृजना गरेको छ।
मुख्यमन्त्री कार्कीले भेटका क्रममा टेटरलाल राजबंशीले प्रकट गरेको खुशी र अभिभावकको आशीर्वादले आफूलाई थप ऊर्जा मिलेको बताए।
मुख्यमन्त्री कार्कीले उक्त भेटघाटका तस्बिरहरू आफ्नो फेसबुक पेजमा सेयर गरेपछि सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आएको छ।
एक प्रयोगकर्ताले लेखेका छन्, “मुख्यमन्त्रीज्यूले यसरी अभिभावकका रूपमा स्नेह देखाउनु प्रेरणादायी छ। यो भेटघाटले मानवता र आत्मीयताको उदाहरण प्रस्तुत गरेको छ।”
अर्का व्यक्तिले भने, “गरिबलाई सम्मान दिँदा भगवान्को आशीर्वाद पाइन्छ। यस्तो कामले एक असल देशभक्तको छवि अझै बलियो बनाउँछ।”
यस किसिमका आत्मीय कार्यहरूले राजनीतिक नेतृत्वले नागरिकसँगको निकटता र समान व्यवहारमा विश्वास राख्न प्रेरणा दिएको छ। मुख्यमन्त्री कार्कीको यो कदमलाई धेरैले सम्मान र प्रशंसा गरेका छन्।



















