काठमाडौँ—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले फेरि अर्को विवादित अभिव्यक्ति दिएकी छन्। केही दिनअघि सामाजिक सञ्जालमा उनले ‘रवि लामिछानेले गृहमन्त्री हुँदा बलात्कार आरोपीलाई उन्मुक्ति दिएको’ भन्दै दिएको टिप्पणीको चौतर्फी आलोचना भइरहेका बेला संग्रौलाले आफ्नो विरोध गर्ने पार्टीका नेता–कार्यकर्ताहरूको विगत खोतल्ने चेतावनी दिएकी छन्।

संग्रौलाले सामाजिक सञ्जालमा लेखेकी छिन्, "ज–जसले मेरो विरोध गरेर आफू रास्वपा हो भन्ने देखाउन खोजिरहेका छन्, तिनीहरूको विगत खोज्ने हो भने एक न एक काण्डमा मुछिएको पाइनछ। मैले यो सबै पर्दाफास गरे भने भोलि नाकमुख देखाउन गाह्रो हुनेछ।"

संग्रौलाले पार्टीको अनुशासन समितिले स्पष्टीकरण मागेमा जवाफ दिन आफू तयार रहेको बताएकी छन्। उनले थप भनेकी छन्, "म जुनसुकै ठाउँमा उभिएर पनि आफ्नो भनाइको जवाफ दिन तयार छु। तर, ममाथि अनावश्यक आलोचना गर्नेलाई संयमित बन्न आग्रह गर्दछु।"

संग्रौलाले सामाजिक सञ्जालमा लेखेका केही पोस्टमा सामान्य त्रुटी भएको स्वीकार गरेकी छन्। तर, उनले आफ्नो त्रुटी सच्याएर स्पष्टीकरण दिने प्रयास गर्दा पनि आलोचना नगरेको भन्दै असन्तोष व्यक्त गरिन्। उनले भनेकी छन्, "मेरो लेखाइमा त्रुटी भएको स्वीकार्छु, र त्यसलाई सच्याउँदै तीन पटकसम्म स्पष्टीकरण दिएका पोस्ट गरेकी छु। तर, केही व्यक्तिहरूले मलाई खेद्न छोडेका छैनन्।"

संग्रौलाले पार्टीभित्रका केही नेता–कार्यकर्ताहरूलाई आर्थिक अपचलन गरेको आरोप लगाउँदै तिनै व्यक्तिहरू आफूविरुद्ध लागिरहेको दाबी गरिन्। उनले लेखेकी छन्, "चुनावी अभियानका क्रममा आर्थिक अपचलनमा मुछिएका र त्यसबापत निलम्बनमा परेका व्यक्तिहरू नै आज मेरो खेदो खन्ने प्रयासमा छन्।"

ज्वाला संग्रौलाको पछिल्लो अभिव्यक्तिले रास्वपाभित्र थप विवाद चुलिएको छ। पार्टीका कतिपय नेता–कार्यकर्ताहरूले उनलाई कारबाही गर्न माग गरेका छन् भने उनका समर्थकहरूले उनलाई ‘स्पष्ट र निडर नेता’ को रूपमा बचाउ गरेका छन्।

रास्वपाले यस प्रकरणमा अनुशासन समितिबाट औपचारिक प्रतिक्रिया आउने बताएको छ। यो विवादले पार्टीभित्रको आन्तरिक कलह र नेतृत्वप्रतिको असन्तोष सतहमा ल्याएको देखिन्छ।

यस्तो छ ज्वालाले फेसबुकमा लेखेको अर्को स्टाटस :

अरु त त्यस्तै हो पार्टीको चुनावी अभियानका दौरान आर्थिक अपचलन गरेर निलम्बनमा परेका भूतपूर्वहरूले मेरो खेदो गरेको चाहिँ कतिपनि सुहाएन। मैले केही अपराध गरेको छैन, कसैको एकसुको खाएको छैन, पार्टीभित्र बसेर गुट र फुटको गन्धा धन्दा गरेको छैन। सकेसम्म राम्रो गरौँ, नसके नराम्रो पनि नगरौँ भन्ने सोच हो। आजपनि म पार्टीभित्र यसकारण छु कि त्यहाँ रवि दाइ हुनुहुन्छ अनि अरु केही राम्रा साथीहरू! मेरो एउटा सामान्य लेखाइको त्रुटी, त्यो पनि मैले सच्याएर तीनवटा स्पष्टीकरणसहितका स्टाटस लेख्दासमेत मलाई खेद्न छोडेका छैनन् । यसबाट म कतै विचलित भएकी छैन, किनकि यस्ता बाधाका पहाडमाथि टेक्दै जीवनको उकाली चढेको निक्कै साल भै सक्यो। ज–जसले आज मेरो विरोध गरेर आफू रास्वपा हूँ भनिरहेका छन्, तिनीहरूको विगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन्। मैले पर्दाफास गर्दै गए भने भोलि नाकमुख देखाउन गाह्रो होला महोदय । तसर्थ संयमित बन्नुस्। मेरो अभिव्यक्तिको विषयमा मलाई पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेमा म जुनसुकै ठाउँमा उभिएर भएपनि जवाफ दिन तयार छु ।

रवि दाइ सञ्चारकर्मी हुँदादेखि नै दाइको सपोर्टमा सबैभन्दा बढी लेख्ने बोल्ने र कसैको डर धम्कीको परवाह नगरी एकलै भएपनि खडा भएर हिँडेकी मान्छे हूँ म । आज रवि दाइ राजनीतिमा आएर यस्तो परिबन्द झेल्दैगर्दा समेत मैले दाइको साथ छोडेको छैन किनभने दाइले यो देशको लागि सोचेको सपना ठूलो छ र त्यो सपनाभित्र आज मेरो सानो दुधे बालकको भविस्य समेत जोडिएको छ । तसर्थ उसलाई छोडी छोडी म रवि दाइलाई जोगाउनुपर्छ भनेर हिँडिरहेकी छु। रवि दाइमाथि आज सिङ्गो राज्य खनिएको देख्दा मन रोएको छ। दाइको लागि हामीजस्ता भुइँमान्छेले बोल्नुपर्छ भनेर मेरा साथीहरूलाई समेत प्रेरित गर्दैगर्दा एउटा सामान्य त्रुटीलाई दिनदिनै आफ्नो फेसबुकमा बोकेर कुदिरहेका केही साथीहरूको बौद्धिक दरिद्रता देखेर दया लागेको छ। पार्टीलाई माया गर्नुस् तर माया गरेको नाटक नगर्नुस्। म केन्द्रीय सदस्य भएकोमा नै यति सारो आपत्ति, डाहा र रिस हो भने पार्टीले खुल्ला प्रतिस्पर्धाको नीति अपनाएको छ।  महाधिवेशन लडेर आउनुस र मलाई हराइदिनुस्, सक्की गो नि !