विराटचोक—मोरङको सुन्दरहरैँचा-१० स्थित विराटचोकमा आयोजना हुने सुन्दरहरैँचा विराट एक्स्पो ४ मा तीन लाखभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ। यस एक्स्पोको आयोजना सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा माघ ३० गतेदेखि फागुन १० गतेसम्म हुनेछ।
एक्स्पोमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाबाट किसान, उद्योगी, व्यापारी, व्यवसायी, र सर्वसाधारण गरी लगभग ३ लाख दर्शकको सहभागिता हुने अपेक्षा गरिएको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।
यस वर्षको एक्स्पोमा विदेशी व्यापारी र व्यवसायीहरूको उत्पादनका स्टलहरूको समावेश हुनेछ, जसले दर्शकहरूको ध्यान आकर्षित गर्ने बताइएको छ ।
एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तान र भुटानबाट औद्योगिक उत्पादनका गरी २२० भन्दा बढी स्टल रहने सुन्दरहरैँचा उद्योग वाणिज्य संघका उपाध्यक्ष डिल्लीप्रसाद ढकालले जानकारी दिए । एक्स्पोले स्थानीय दर्शकहरूलाई अन्तर्राष्ट्रिय उत्पादनहरूको अवलोकन गर्ने अवसर प्रदान गर्नेछ।
यस एक्स्पो स्थानीय समुदायको सामाजिक र सांस्कृतिक विकासका लागि महत्त्वपूर्ण हुनेछ, साथै व्यापार र उद्योगको प्रवर्धनमा पनि ठूलो योगदान पुर्याउने विश्वास रहेको एक्स्पो मुल समारोह समितिका संयोजक भोलेश्वर दुलालले व्यक्त गरे।
यस एक्स्पोको मुख्य उद्देश्य सुन्दरहरैँचामा निर्माणाधीन आधुनिक शौचालय र पुस्तकालयका लागि आर्थिक सहयोग जुटाउनु हो। यसबाट प्राप्त हुने आयले यी परियोजनाहरूलाई प्रोत्साहन र सहयोग पुर्याउने विश्वास गरिएको छ।
- यही माघ ३० गते विराटचोकमा हास्यव्यंग्य कलाकार मनोज गजुरेल र गायक दुर्गेश थापा आउने भएका छन् । सुन्दरहरैँचा विराट एक्स्पो ४ मा गजुरेल र थापाको धमाकेदार प्रस्तुति रहने छ ।



















