काठमाडौं—रूपन्देहीको कञ्चन गाउँपालिकामा २० वर्षीय युवकले आफ्नै आमाको हत्या गरेका छन्। कञ्चन गाउँपालिका–१ सुन्दर टोलका २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारलाई हँसिया प्रहार गरी हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बुधबार राति करिब १ बजे सरोजले आमाको आँखा र हातमा हँसिया प्रहार गरेका थिए, जसका कारण पार्वतीको घटनास्थलमै मृत्यु भएको थियो ।
घरमा सरोज र मृतक पार्वती मात्रै बस्दै आएका थिए। सरोज पार्वतीका कान्छा छोरा हुन् भने उनका जेठो छोरा रोजगारीको सिलसिलामा भारतमा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरका अनुसार घटनापछि सरोजलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरू गरिएको छ।
यो घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ, भने घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।




















