विराटनगर—विराटनगरका हरित अभियन्ता पारुल क्षेत्रीले समवेदनालाई जीवन्त राख्ने अद्वितीय तरिका अघि सारेका छन्। उनले दुःखद क्षणमा समवेदना व्यक्त गर्न बिरुवा लिएर जाने नयाँ र अर्थपूर्ण परम्पराको थालनी गरेका हुन् ।
पारुल क्षेत्री भन्छन्, "हामी समवेदना दिन जाँदाखेरि बिरुवा लिएर जाने गर्छौं। त्यो बिरुवा उहाँले रोप्नुहोस् र हुर्काउनुहोस् भन्ने हाम्रो उद्देश्य हो। साथै, त्यो बिरुवा हेर्दा उहाँहरूको आफ्ना प्रियजनको सम्झना रहिरहोस् भन्ने हाम्रो चाहना हो।"
उनले यो अभ्यासले मृत आत्माप्रति श्रद्धाञ्जलि मात्र नभई, पर्यावरणीय सन्देश पनि दिने विश्वास व्यक्त गरे। समवेदना व्यक्त गर्न बिरुवा प्रदान गर्नु, उहाँका अनुसार, प्रकृति संरक्षण र भावनात्मक सम्बन्धको समन्वय हो।
"समवेदना पत्र दिने परम्परा हाम्रो धर्म र संस्कृतिमा थिएन," क्षेत्रीले थपे। "तर बिरुवा रोपेर हुर्काउनु भनेको मृत आत्माको सम्झनालाई जीवन्त राख्ने र समाजलाई हरित बनाउन योगदान दिनु हो।"
हरित विराटनगरको यो अभियानले स्थानीय स्तरमा सकारात्मक प्रभाव पारेको छ। मानिसहरूले यो पहललाई समर्थन गर्दै बिरुवा रोप्ने र हुर्काउने परम्परालाई आत्मसात् गर्न थालेका छन्।
यो अभियानले मृत आत्माप्रति श्रद्धाञ्जलि दिने नयाँ सोच प्रदान गर्दै समाजलाई हरित भविष्यतर्फ उन्मुख गराउने विश्वास गरिएको छ।
अभियन्ता पारुल क्षेत्रीको "समवेदनामा बिरुवा" अभियानले करिब ८ महिनाको अवधिमा ३५ घर-परिवारसम्म आफ्नो प्रभाव विस्तार गरिसकेको छ।
शोकमा परेका परिवारहरूले यो अभियानले आफूहरूको दुःखमा भावनात्मक सहारा दिएको बताएका छन्। त्यस्तै यातायात कार्यालयका अधिकृत विराटनगरका योगेश खनाल भन्छन्, "पारुलजीले दिएको बिरुवा रोपेको छु। त्यो बिरुवा हेर्दा मलाई मेरो बुवाको सम्झना आउँछ। यो बिरुवा हाम्रो परिवारको एउटा हिस्सा जस्तै भएको छ।"
बोटविरुवा संग पनि मानिसहरुको शास्त्रीय सम्वन्धको पृष्ठभूमि समेत रहेको सुन्दरहरैँचाका लेखक दुर्गाप्रसाद खरेल बताउछन ।
यो अभियानले शोकलाई सकारात्मक ऊर्जा र स्मरणीय भविष्य बनाउन प्रेरणा दिएको छ। बिरुवा हुर्काउन पाउँदा परिवारले आफ्ना प्रियजनको सम्झनालाई जोगाइराख्ने अवसर मात्र पाएका छैनन्, उनीहरूले हरियाली र पर्यावरणको रक्षा गर्न पनि योगदान पुऱ्याइरहेका छन्।
अभियन्ता क्षेत्रीको यो प्रयासले सामाजिक र पर्यावरणीय चेतनामा नयाँ दृष्टिकोण ल्याएको छ। अभियानलाई अझै विस्तार गर्ने योजना रहेको पारुल क्षेत्रीले बताएका छन्।



















