हेटौंडा—नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीका पूर्वसदस्य शिवहरि बर्तौलासहित करिब दुई दर्जन नेता तथा कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
आज हेटौंडास्थित एमाले पार्टी कार्यालयमा बसेको मकवानपुर जिल्ला कमिटीको पूर्ण बैठकमा बर्तौलासहित समाजवादी मकवानपुरका जिल्ला कमिटी सदस्य मानबहादुर बल, पूर्व जिल्ला कमिटी सदस्य कर्णबहादुर पाख्रिन, देवलाल गोले, सुनिलकुमार गोले, लोकबहादुर घिसिङ,वीरबहादुर बल, शेरमान थापा, भुपाल थिङ सहित अन्य स्थानीय नेता र कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बागमती ईन्चार्ज डा. राजन भट्टराई, मकवानपुर ईन्चार्ज रामेश्वर राना, र अन्य नेताहरूले खादा लगाएर स्वागत गरे।
एमालेमा प्रवेशका क्रममा शिवहरी बर्तौलाले समाजवादी पार्टीबाट देशको समृद्धि सम्भव नरहेको निष्कर्षमा पुगेपछि एमालेमा फर्किएको बताए। उनले समाजवादी पार्टीमा रहेका अन्य नेताहरूलाई पनि एमालेमा फर्कन आग्रह गर्दै, पार्टीको "मिसन ८४" लाई सफल बनाउन आफ्नो पूर्ण योगदान दिने प्रतिवद्धता व्यक्त गरे।
एमाले मकवानपुर उपाध्यक्ष हिदम लामाका अनुसार, यो पार्टी प्रवेश कार्यक्रम तीन महिने वडा केन्द्रित "जरा अभियान" अन्तर्गत सम्पन्न भएको हो। अभियानले मकवानपुरका १० वटै स्थानीय तहका १०२ वटै वडा कमिटीमा बैठक र गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
दुई दिनसम्म सञ्चालन हुने जिल्ला कमिटी बैठकमा स्थानीय तहका रिपोर्टिङ, जरा अभियानलाई थप प्रभावकारी बनाउनका लागि रणनीति तय गर्ने, र पार्टीलाई अझ सुदृढ बनाउने योजना निर्माण गर्ने विषयमा छलफल हुने बताइएको छ।
पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले निर्देशनात्मक मन्तव्य राख्दै अभियानलाई सफल बनाउन कार्यकर्ताहरूलाई उत्प्रेरित गरेका थिए ।




















