काठमाडौं— नेकपा (माओवादी केन्द्र)ले सोमबारदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज मोरङमा १० स्थानमा कार्यक्रम हुने भएको छ।
पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितको पदाधिकारीको टोली बिहान ९ बजे मोरङको कानेपोखरी चोकमा आइपुग्ने भएको छ । त्यहाँ चिया खाएर साढे ९ बजे पार्टी प्रवेश गर्न लागेका कांग्रेस नेता जयराज लिम्बुको घरमा भेटघाट कार्यक्रम रहेको छ । त्यसपछि कानेपोखरी रमाइलो बजारमा खबरदारी सभा तय भएको छ ।
त्यहाँको कार्यक्रम सकेर अभियान टोली मोरङ सुनवर्षीको कदमगाछीमा रहेको सुधीर मण्डलको घर साढे १२ बजेसम्ममा खाना खाने, सहिद परिवार जुब्बा सोरेनको घरमा भेटघाट गर्ने र १ बजेदेखि साढे २ बजेसम्म रतुवामाईको आमबारी चोकमा खबरदारी सभामा सहभागी हुनेछ ।
खबरदारी सभा सम्पन्न भएपछि अभियान टोली सुनवर्षी ८ मुस्लिम टोल मेहबुब आलमको घरमा चिया खाने र साँझ ५ बजेसम्ममा धनपालथानको कर्सिया बजारको खबरदारी सभामा सहभागी हुने कार्यक्रम छ । त्यसपछि ६ बजेसम्म सानातिना भेटघाट, साँझ ७ बजे धनपालथान–५ दादरबुैरियामा तय गरिएको बासस्थानमा पुग्ने कार्यक्रम छ । यस्तै १४ गते बिहान सोही स्थानमा मर्निङवाक गर्दै बिहान ८ बजे विराटनगर आउने कार्यक्रम छ ।
अध्यक्ष प्रचण्डले हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित जनतासँग माओवादी तराई-मधेस जागरण अभियान सोमबार झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित हुकाहुकी चोकबाट उद्घाटन गरेका गरेका थिए ।




















