काठमाडौं—नेकपा एमालेनिकट अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले जनवादी प्रगतिशील विवाहबाट जोगाएको खर्च आफैंले अध्ययन गरेको विद्यालयलाई सहयोग गरेका छन्।

उपाध्यक्ष गिरी र अनेरास्ववियुकै केन्द्रीय सदस्य इन्जिनियर रचना सापकोटाबीच गत साता एमाले केन्द्रीय कार्यालय, च्यासलमा जनवादी विवाह सम्पन्न भएको थियो। कम्युनिस्ट पार्टीमा दुर्लभ बन्दै गएको जनवादी विवाह गरेर गिरी र सापकोटाले उदाहरणीय काम गरेको भन्दै पार्टीका नेताहरूले प्रशंसा गरेका छन्।

फागुन ८ गते भएको विवाह समारोहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं उपस्थित भई बर–बधूलाई शुभकामना दिएका थिए ।

 विवाहमा अनावश्यक खर्च गरेर ऋणको भार बोक्नु भन्दा सामान्य खर्चमा विवाह सम्पन्न गरेको र बाँकी बचत रकम सामाजिक काममा लगानी गर्ने निर्णय गरेको गिरीले बताएका छन् ।

481658749_4125901614291504_8939657744286708322_nविवाहमा बचत रकमबाट प्युठानको नारिकोटस्थित श्री अमृत जीवन माध्यमिक विद्यालयमा १ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेको उनले बताए । सो विद्यालयबाट गिरीले आफ्नो विद्यालय स्तरीय शिक्षा हासिल गरेका थिए।

उक्त अक्षयकोषबाट प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने गिरीले बताएका छन्।

यो कदमले गिरीको सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता देखाएको र अन्यलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।