मिक्लाजु— मोरङको मिक्लाजुङ गाउँपालिका–१, मान्द्रेमामा आइतबार दिउँसो करेन्ट लागेर  एक विद्यार्थीको दुःखद निधन भएको छ। टाँडी माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत विद्यार्थी निर्मला राई जंगलमा बाख्रा चराउन गएको बेला अव्यवस्थित रूपमा गाडिएको विद्युतीय पोलबाट करेन्ट लाग्दा घटनास्थलमै निधन भएको हो।

निर्मलाको मृत्युले स्थानीय बासिन्दा, उनको परिवार, र विद्यालय परीवारलाई गहिरो शोकमा डुबाएको छ।यस घटनाले ग्रामीण क्षेत्रमा विद्युतीय सुरक्षाको गम्भीर अभावलाई सतहमा ल्याएको छ।

स्थानीय बासिन्दाले विद्युत प्राधिकरण र स्थानीय प्रशासनमाथि कडा आक्रोश व्यक्त गर्दै यस्ता दुर्घटनाहरू पुनः नदोहोरियोस् भनेर तत्काल सुरक्षात्मक कदम चाल्न माग गरेका छन्।

स्थानीयले ग्रामीण क्षेत्रमा विद्युतीय लाइनको मर्मत सम्भार र सुरक्षा व्यवस्थापनमा चरम बेवास्ता भएको दाबी गरेका छन्। विद्युतीय पोलहरू अव्यवस्थित रूपमा गाडिनुले यस्तो घटना घटेको भन्दै स्थानीय समुदायले दोषी निकायलाई जिम्मेवार बनाउन जोडदार माग गरेका छन्।

यस दुःखद घटनाले विद्युत लाइनको नियमित मर्मत सम्भार, व्यवस्थित व्यवस्थापन, र ग्रामीण क्षेत्रमा सुरक्षा मापदण्डहरूको लागू गर्नुपर्ने आवश्यकता देखाएको छ।