काठमाडाैं—राजावादीले प्रतिगामी प्रयास गरेको भन्दै सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले देशभरका सबै वडामा एकसाथ प्रदर्शन गर्ने भएको छ ।
वडा केन्द्रित अभियानलाई जोड्ने भन्दै एमालेले आगामी चैत ११ गते देशभरका वडामा यस्तो कार्यक्रम गर्ने जनाएको हो ।
‘प्रतिगामी कूप्रयासका विरुद्धमा पार्टीको वडा केन्द्रित अभियानलाई जोड्दै चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने,’ एमालेले भनेको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्ला स्तरमा अन्तर सम्वाद कार्यक्रम आयोजना गर्ने ।’
साथै चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरणसभा आयोजना गर्ने एमालेको निर्णय छ ।
जागरणसभा नहुने जिल्लाका हकमा वृहत् मोटरसाइकल र्याली गर्ने तयारी एमालेको छ ।
चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने र काठमाडौं उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने एमालेले जनाएको छ ।




















