काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मन पराउने र मन नपराउने दुबै खालका मानिसहरू रहेको बताउँदै, आफूले इमान्दारीपूर्वक काम गरिरहेको स्पष्ट पारेका छन्। आज (मंगलबार) नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाको आत्मकथा ‘म र सानोबुवा’ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो कामप्रतिको प्रतिबद्धता प्रकट गरेका हुन्।

उनले भने, “मन पर्ने र नपर्ने पनि अनौठो हुने रहेछ। त्यही मान्छेलाई एकथरीले मन पराउँछन् भने अर्काथरीले मन नपराउँछन्। म त भुक्तभोगी हुँ। मलाई ‘आई लभ यु’ भन्ने पनि छन्, ‘आई हेट यु’ भन्ने पनि। यो उनीहरूको अधिकार हो। मैले आफ्नो काम इमान्दारीपूर्वक गर्नुपर्छ। को के भन्छ, त्यो उनको कुरा हो।”

यसअघि, ललितपुरमा आयोजित अर्को कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई असफल बनाउन खोज्नेहरू सरकारविरुद्ध लागिरहेको बताएका थिए। उनले कुलमान घिसिङलाई हटाउने निर्णयलाई लिएर उठेका विषयप्रति संकेत गर्दै भने, “हिजोदेखि ‘इस्यु भेटियो’ भन्दै हिँडेका छन्। त्यो केही अर्थहीन हो। हामीले देश र जनताको लागि इमान्दारीपूर्वक काम गर्नै पर्छ।”

उनले यस क्रममा पूर्वराजाको आन्दोलनप्रति संकेत गर्दै देश निर्माणमा सबैका पुर्खाको योगदान रहेको बताए। प्रधानमन्त्री ओलीले भने, “यो देश सबैको योगदानले बनेको हो। हाम्रा पुर्खा पनि देशका लागि लडेका थिए। कुनै एक जनाको खानदानलाई मात्र मान्नुपर्ने सामन्ती सोच अब मान्य छैन।”