पोखरा—नुवाकोट बेलकोटगढी नगरपालिका– की ३७ वर्षीय सरिता लामा अमेरिकी नागरिक अपहरणको आरोपमा पक्राउ परेकी छिन् ।। केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको हो। कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार घटनाको अनुसन्धान जारी छ।
७० वर्षीया अमेरिकी महिला साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि नेपाल आएकी थिइन्। सरिता लामासँग उनको सामान्य चिनजान थियो। नेपालमा रहँदा घुम्ने ठाउँहरूको जानकारी दिने क्रममा सरिता लामाले अमेरिकी महिलालाई पोखराको लेकसाइडस्थित होटलबाट ‘घरमा लैजान्छु’ भन्दै आफ्नो साथमा लगिन्। तर, घर नलगी उनलाई लुकाएर फिरौती माग्न थालिन्।
नेपालस्थित अमेरिकी दूतावासले घटनाको जानकारी कास्की प्रहरीलाई दिएपछि प्रहरीले तुरुन्तै अनुसन्धान टोली खटाएर महिलाको सकुशल उद्धार गरेको हो। लामाले ३ लाख युरो अर्थात् साढे ४ करोड रुपैयाँ फिरौती मागेको खुलासा भएको छ। एसपी ओलियाका अनुसार, घटनाको प्रकृतिले अपहरणकारीले पीडितलाई भारतसम्म लैजाने योजना गरेको संकेत देखिन्छ।
अनुसन्धानका क्रममा, पीडितलाई पोखराबाट चितवन, हेटौंडा हुँदै पर्सा क्षेत्रतिर लगिएको पत्ता लागेको छ। कास्की जिल्ला अदालतले सरिता लामाविरुद्ध अपहरण तथा शरीर बन्धक कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ।



















