काठमाडौं — तीनकुनेमा प्रदर्शनकारीलाई अराजक, हिंस्रक, र उत्तेजक बनाएर भागेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं लुकेर फरार भएका छन्। प्रहरीको टोलीले शुक्रबार रातिदेखि उनलाई पक्राउ गर्न खोजीकार्य जारी राखेको छ।
तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको कमाण्डरका रूपमा चिनिएका प्रसाईं कथित धर्मगुरू पुस्कर खतिवडासँगै गएका थिए। कार्यक्रमस्थलबाट खतिवडासँगै निस्किएका उनी, इमाडोलस्थित खतिवडाको घरमा केहीबेर बसेर फरार भएका हुन्। प्रहरीका अनुसार खतिवडाको घरबाट भाग्नु अघि प्रसाईंले केरा र स्याउ खाएका थिए।
ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार प्रसाईंको मोबाइल अफ गरिएको छ, र उनको अन्तिम लोकेशन गैरीगाउँमा देखिएको छ।
तीनकुने हिंसा उकास्ने अभियोगमा कथित धर्मगुरू पुस्कर खतिवडालाई प्रहरीले पहिले नै पक्राउ गरिसकेको छ। यसैगरी, रवीन्द्र मिश्र, धवलशम्शेर राणा, स्वागत नेपालसहित १५० भन्दा धेरैलाई पक्राउ गरिएको छ। कथित जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले हिंसामा संलग्न व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिएको छ। घटनामा संलग्न अन्य मुख्य योजनाकारहरूलाई पनि छिट्टै पक्राउ गरिने बताइएको छ।



















