केराबारी, मोरङ — नेकपा एमाले केराबारी गाउँपालिका कमिटीले प्रतिगमनविरुद्ध र गणतन्त्र समर्थनका लागि जनजागरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । शनिवार भएको कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश कमिटीका इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य खड्गबहादुर बस्नेत, नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम अधिकारी, सदस्य उमेश उप्रेती, मोरङ जिल्ला कमिटी उपसचिव सन्तोष वान्तवा, नेताहरु शान्ती लिम्बू, टेकबहादुर लिम्बू, केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ,उपाध्यक्ष मनमाया मगर लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रतिगमनकारीहरूद्वारा गरिएका हिंसात्मक, विध्वंसकारी, लुटपाट र आगजनी जस्ता घटनाको कडा विरोध गरिएको थियो।
जनजागरण सभामा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न र आगामी कार्यक्रमलाई सफल बनाउन आह्वान गरिएको खदम क्याम्पसका स्ववियु सभापति संगम कन्दंगवाले जानकारी दिए ।
कार्यक्रममा यही चैत्र १८ गते विराटनगर र ३० गते दमकमा आयोजना गरिने विशाल जनप्रदर्शनमा सहभागी भई गणतन्त्रको पक्षमा जनमत सशक्त बनाउन सबैलाई आग्रह गरिएको छ।
केराबारी गाउँपालिका कमिटीका अध्यक्ष पुर्णबहादुर मगरको अध्यक्षतामा सभामा पार्टीका स्थानिय नेता, कार्यकर्ता, र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले संघीय लोकतान्त्रिक प्रणालीलाई सुदृढ पार्न र प्रतिगमनविरुद्ध जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकहरूले बताएका छन्।
























