विराटनगर— नेकपा एकीकृत समाजवादी मोरङको नवौं जिल्ला अधिवेशन आजदेखि विराटनगरमा सुरू हुँदैछ। बुधबारसम्म चल्ने अधिवेशनले ९१ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ।
अध्यक्ष पदका लागि तीन जना नेता आकांक्षी देखिएका छन्—चन्द्रवीर राई, उद्धव पोखरेल, र दीपक ढकाल। राई हालका जिल्ला अध्यक्ष हुन्, पोखरेल उपाध्यक्ष हुन्, र ढकाल प्रदेश कमिटीका सदस्य हुन्। केन्द्रीय अध्यक्ष माधव नेपालको समर्थन कसलाई प्राप्त हुने भन्ने अझै स्पष्ट नभएको एक नेताले बताएका छन्।
'राईलाई माथिल्लो कमिटीमा लैजाने चर्चा छ, तर कुन कमिटीमा रहने भन्ने टुंगो लागेको छैन। पोखरेल र ढकालमध्ये जसले अध्यक्ष नेपालको समर्थन पाउँछ, उसैले बाजी मार्ने सम्भावना छ,' ती नेताले भने।
उपाध्यक्ष पदका लागि भुपाल बस्नेत, वीरेन्द्र यादव, र विन्दुकला राई आकांक्षी छन्। बस्नेत बेलबारी नगर कमिटीका अध्यक्ष, यादव विराटनगर महानगर कमिटी अध्यक्ष हुन्।
सचिव पदमा चर्चित युवा नेता प्रेमराज भारती चर्चा चलेको छ । विद्यार्थी राजनितिबाट उदाएका उनि पादाधिकारीमा आकांक्षी मध्ये कान्छा उमेरका हुन् । उनि पार्टीका काममा बढि समयदिने भएकाले यस्तै युवा चाहिएको पथरीका एक नेताले बताए ।
त्यसैगरी ध्रुव डाँगी, प्रदेश कमिटी सदस्य राजेन्द्र सुवेदी, महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरे, र पथरी नगर कमिटी अध्यक्ष तुलसी ढकाल आकांक्षी छन्। उपसचिव पदमा भवानी धमलाको चर्चा छ।
यो पार्टी विभाजनपछिको पहिलो जिल्ला अधिवेशन हो। नेकपा एमालेसँग जोडेर नेकपा एसले पनि नवौं जिल्ला अधिवेशन भनेको छ। पहिले २०३ सदस्यीय आयोजक कमिटी रहेकोमा अहिले ५८८ जना प्रतिनिधि छनोट भएका छन्।
अधिवेशन उद्घाटनका क्रममा नेकपा एस मोरङले शक्ति प्रदर्शन गर्ने जनाएको छ। पार्टी कार्यालय तीनपैनीबाट जुलुस निकालेर गणतन्त्रको समर्थनमा नारा लगाउँदै कार्यक्रमस्थल होटल मनास्लु इनमा पुग्ने कार्यक्रम रहेको छ।
उद्घाटन अवसरमा कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिनेछ। साथै, नयाँ व्यक्तिहरूको पार्टी प्रवेश कार्यक्रमसमेत हुने नेकपा एकीकृत समाजवादीले जनाएको छ।
अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष माधव नेपालले गर्ने कार्यक्रम छ। महासचिव घनश्याम भुसालसहितका नेताहरूले अधिवेशनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।




















