काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिबाट अलग गरेर पार्टीलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

उच्च अदालत तुलसीपुर बुटवल इजालसले रविलाई थुनामा पठाउन आदेश दिएसँगै मुकुलले सामाजिक सञ्जालमार्फत यस्तो प्रस्ताव अघि सारेका हुन् ।

‘असार १९, २०८१ मा मैले पार्टीको केन्द्रीय समितिको बैठकमा राखेको प्रस्ताव-रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ। यो प्रस्तावमा नआई सुख छैन। रवि दाइलाई राजनीतिबाट बिदा गरी राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा लागौँ। यसले दाइलाई पनि सबै कुरा छोडेर मुद्दा मामिलामा फोकस हुन सजिलो हुन्छ र पार्टी पनि बन्ने दिशामा अघि बढ्छ,’ उनले भने ।

उनले अब पार्टी जोगाउने उपाय भने असारको आफ्नो प्रस्तावमा फर्किनु रहेको पनि बताएका छन् ।

‘असारमा भनेको कुरा चैत लाग्दासम्म पनि बुझ्न सकेनौँ भने राजनीति के गर्छौँ ? छोडिदिए हुन्छ। अब पार्टी जोगाउने उपाय भनेको असारको प्रस्तावमा फर्कनु हो। रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने निर्णय गर्नु हो अनि मात्र नेपाल, नेपाली जनता, विधिको शासन र नैतिक मूल्य-मान्यताको राजनीतीलाई न्याय मिल्छ,’ उनले भनेका छन् ।