काठमाडौँ— सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि एमाले महासचिव शंकर पोखरेलले रास्वपाका नेताहरूलाई ‘रिति र थिति’ सम्झन आग्रह गरेका छन्।

शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि लामिछाने पक्राउ परेपछि रास्वपाका नेताहरूले प्रहरीमाथि आपत्ति जनाएका थिए। त्यसपछि पोखरेलले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै भनेका छन्,

"प्रहरीको पूर्जी काट्ने ‘रीति र थिति’ रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने हेक्का रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै भएन। तर पनि सुधारको खोजी यस्तै बेलामा हुने त हो नि!"

लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रहेका बेला बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा अदालतले थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश दिएको हो।