काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई अब बिर्सनुपर्ने बताएका छन्। लामिछाने अदालतको आदेशपछि कारागार चलान भएपछि ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो टिप्पणी गरेका हुन्।

ढकालले लामिछानेलाई ‘वर्षौँका लागि मामाघर गएका’ रूपमा चित्रण गर्दै रास्वपालाई अब ‘क्लवबाट पार्टी’ बनाउने समय आएको बताएका छन्। उनले लामिछानेमाथि व्यक्तिगत आकांक्षा र क्लबमुखी सोचका कारण पार्टी निर्माणको मूल मर्मबाट विचलन भएको आरोप पनि लगाएका छन्।

“काङ्ग्रेस र एमालेका लाखौँ झोलेसँग नडराइ पार्टी खोल्ने निर्णय गरेका थियौँ,” ढकालले लेखेका छन्, “तर क्लवलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले। उनलाई कहिल्यै पार्टी बनाउनु नै रहेनछ, क्लवमा नै रमाउनु थियो।”

ढकालले आफूहरू अब नयाँ राजनीतिक अभियान सुरु गर्न तयार रहेको जनाउँदै झोले र अरिङ्गाल मुक्त पार्टी निर्माणतर्फ लाग्ने बताएका छन्। उनका अनुसार अब रास्वपालाई पुनर्गठन गरी स्पष्ट विचारसहितको वैकल्पिक राजनीतिक शक्ति बनाइनेछ।

“हिजो जसरी काङ्ग्रेस र एमालेका लाखौँ झोलेसँग डराएनौँ, आज पनि दुइ–चार हजार अरिङ्गालसँग डराउनु पर्दैन,” उनले भनेका छन्।

रास्वपाभित्रको आन्तरिक मतभेद र शक्ति संघर्षले अब पार्टी कुन दिशामा अघि बढ्छ भन्ने प्रश्न उठाएको छ। ढकालको अभिव्यक्तिले रवि लामिछानेको गैरहाजिरीमा पार्टी नेतृत्व कसरी सम्हालिने भन्ने विषयमा नयाँ बहस चर्काएको छ।