सिरहा— जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित धनगढीमाई नगरपालिका-७ का वडाध्यक्ष विजय महतो नेकपा एमालेमा प्रवेश गरेका छन्। महतोसहित सोही वडाका सदस्यहरू पनि नेकपा एमालेमा सामेल भएका छन्।

महतो र उनका टोलीलाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्। सिरहा जिल्लाको महाधिवेशनमा सहभागी हुन आएका प्रधानमन्त्री ओलीले उनीहरूलाई माला लगाएर पार्टी प्रवेश गराए।

प्रधानमन्त्री ओली पार्टीको जिल्ला महाधिवेशनमा सहभागी हुन सिरहा आएका हुन्।कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ कार्यसमिति सर्वसम्मतिमै चयन गर्न आग्रह गरे। उनले एमाले पार्टीले मुलुकको समृद्धि र स्थायित्वका लागि महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

जिल्ला महाधिवेशनमा विभिन्न तह र क्षेत्रका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो। नेकपा एमालेले देशव्यापी रूपमा जनसमर्थन बढिरहेको दाबी गर्दै पार्टी सुदृढीकरणमा जुटेको जनाएको छ।