काठमाडौं—नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पूर्वप्रमुख स्वकीय सचिव कर्ण मल्ल राजावादी आन्दोलनमा मिसिएका छन्। कांग्रेस पार्टी परित्याग गरेर नेपाली कांग्रेस (वीपी)का उपसभापति बनेका मल्लले राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाका लागि गठित अभियानमा सहभागी हुने प्रतिवद्धता जनाएका हुन्।

डा. जगमान गुरुङको नेतृत्वमा गठित राजावादी आन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको प्रतिवद्धता कार्यक्रममा मल्लले आफ्नो समर्थन जनाउँदै आन्दोलनमा सक्रिय हुने घोषणा गरे।

कार्यक्रममा मल्लले भने, “राजावादी धारणा राखेकै कारण मलाई कांग्रेस पार्टीबाट निष्कासन गरिएको हो। देशको वर्तमान अवस्था अत्यन्त चिन्ताजनक छ, त्यसैले राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाका लागि अभियानमा लाग्न जरुरी छ।”

डा. गुरुङको नेतृत्वमा भएको बैठकले देशको वर्तमान राजनीतिक अवस्थाबारे छलफल गर्दै आगामी रणनीतिहरू तय गरेको छ।

मल्लको राजावादी अभियानमा सहभागितालाई राजनीतिमा नयाँ मोडका रूपमा हेरिएको छ, जसले नेपालको राजनीतिक परिदृश्यमा थप बहस सिर्जना गर्ने देखिन्छ।